काठमाडौं, जेठ ११
विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग जोड्नका लागि आईडीपी एजुकेसनले मोबाइल एप सार्वजनिक गरेको छ । ग्लोबल एजुकेसन स्पेसलिस्टको रुपमा विगत ५० वर्षदेखि विश्वका विभिन्न देशमा सक्रिय आईडीपी एजुकेसनले नेपालका लागि ‘आईडीपी स्टडी अब्रोड’ एप सार्वजनिक गरेको हो । उक्त एपमार्फत विद्यार्थीले विश्वभर रहेका विभिन्न कलेजबारे घरमै बसेर जानकारी लिन सक्नेछन् ।
आईडीपी नेपालका प्रमुख अभिषेक श्रेष्ठले कम्पनीले ५० वर्षको ज्ञान र अनुभवमार्फत विद्यार्थीलाई उत्कृष्ट कलेज र उनीहरुले अफर गर्ने विभिन्न कोर्षको जानकारी सहज रुपमा प्रदान गर्न मोबाइल एप सार्वजनिक गरेको जानकारी दिए । ‘लकडाउनका कारण अहिलेको अवस्थामा यात्रा गर्न सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामीले निर्धारित लक्ष्यअगावै यो एप सार्वजनिक गरेका हौँ । विद्यार्थीहरुले आफ्नो घरबाट नै कलेजको बारेमा सबै जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यका साथ यो एप तयार पारिएको हो ।’
विदेशमा पढ्नु जीवन परिवर्तनका लागि ठूलो अनुभवको विषय भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यस्तोमा कहाँ पढ्ने, के पढ्ने भन्ने विषयको निर्णय लिनु अवश्य पनि चुनौतीकै विषय हुन्छ । विभिन्न साइटमा भेटिने जानकारीले अझ दोधारको अवस्था सिर्जना गर्नसक्छ । त्यसैले हामीले एकै ठाउँमा सबै जानकारीलाई समेटेर विद्यार्थीलाई सहज बनाउने कोसिस गरेको छौँ ।’ एपमा विद्यार्थीले ६ सय ५० भन्दा बढी विश्वविद्यालयमा रहेका कोर्षको अध्ययन गरी आफूलाई मन परेको कोर्ष सर्टलिस्ट गर्न सक्नेछन् । विश्वविद्यालयको भर्नाको विषयमा निरन्तर अपेडमा बस्नका साथै त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुबाट सुझाव समेत लिन सकिने आईडीपीले जनाएको छ ।