काठमाडौं । बालकुमारी घटना हुनुमा आफ्नो कुनै दोष नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् । आफू बालकुमारीको बाटो हुँदै एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।
सोमबार मन्त्री ज्वालाले आफ्नो निजी सुरक्षा अधिकारी (पीएसओ)ले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नदिएको बताएका हुन् ।
बालकुमारी क्षेत्रमा युवाहरुले गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै प्रदर्शन गरेका बेला सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडी प्रदर्शनकारीले रोकेका थिए । त्यही बेला प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।