बझाङ । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताए । उनले भने, ‘जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो ।’ मृतक कठायतको शव परिक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।