काठमाडौं, जेठ ११
कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोक्थामका लागि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशको विभिन्न स्थानहरूमा सहयोग गर्दै आइरहेको छ । यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले ‘एकका लागि एक’ अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रूपले खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विविन्न संस्थालाई एक हजार किलो खाद्य हस्तान्तरण गरेको छ । यही बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेकी हुुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापनलगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई आफ्ना शाखा र एटीएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रूपैयाँ रहेको बैंकले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड ३० लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।