काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गोकुल पोखरेलको हिजो(सोमबार) काठमाडौंमा भएको असामयिक तथा दुःखद निधनप्रति आयोगले शोक व्यक्त गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलका अनुसार आयोगले स्व.गोकुल पोखरेलको सम्मान र सम्झानामा आयोगमा पोखरेलको तस्वीरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेहौँ दिनको दिन श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको हो ।
आयोगले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासमेत गरेको छ । स्व.पोखरेल २०६२ जेठ १३ देखि २०६३ असार २५ सम्म आयोगको सदस्य रहेका थिए ।
वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई)का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका)का संस्थापक प्रधानसम्पादक पनि थिए ।