पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाको नाममा नक्कली फेसबुक आइडी बनाएर ठगी ‘हनी ट्र्याप’ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२९ तालचोकका २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर नगरपालिका वडा नं.१३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका वडा नं.१ का २१ वर्षीय युनिक सिंह रहेका छन् ।
उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइ अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी)श्रवणकुमार विकले जानकारी दिए । उनीहरुले केटीको नाममा फेसबुक आइडी बनाएर पुरुषहरुलाई हनी ट्र्यापमा पारेर गठी गर्दै आएको डीएसपी विकले बताए ।
उनका अनुुसार पक्राउ परेकाहरुले फेसबुकमा सुरुमा साथी बनाउने, फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको खुलेको डीएसपी विकले बताए ।
पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन)सम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।