काठमाडौं । वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाईदिन्छु भनि लाखौँ रकम ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी बस्ने धादिङका २५ वर्षीय अजय राज शाही र गोरखाकी ३५ वर्षीया छिमी सुनिनलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरुले अनिल भुजेललाई मासिक ७० हजार रुपैयाँ तलबमा स्लोवेनियाको एक फ्याक्ट्रीमा काम लगाइदिन्छु, त्यसका लागि सात लाख खर्च लाग्छ भनेर रकम ठगी गरेका थिए । भुजेलबाट पटक पटक गरी दुई लाख ८९ हजार रुपैयाँ रकम लिई उनीहरु सम्पर्कविहीन भएका थिए । सोही ठगी गरेकोले प्रहरी टोलीले शाही र सुनिनलाई चन्द्रागिरी नैकापबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।