धनुषा । जनकपुरधाममा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन् ।
अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गर्दैे मुख्यमन्त्री यादवले अनियमितताको घटनामा छानबिन गरेर कारबाही गर्ने बताए । सो अवसरमा मुख्यमन्त्री यादवले आगामी आर्थिक वर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगरिने जानकारी दिए ।
सामूहिकरुपमै सुशासन कायम हुनसक्ने उल्लेख गर्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासनको पहिलो विगुल सङ्घ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकता औँल्याए । उनले उपभोक्ता समिति विचौलियाका रुपमा देखिएको चर्चा गर्दै उपभोक्ता समितिमा ठूलो विकृति आएको धारणा राखे । प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेट्ने खालको हुनुपर्ने र यसलाई परिभाषित गर्न सङ्घीय सरकारलाई आग्रह गरेको स्पष्ट पारे ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे, अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङ र अख्तियारका सहसचिव लक्ष्मीप्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।