सन्तोष पौडेल
वीरगञ्ज जेठ १२
लकडाउन अवधिमा सरकारले स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु मात्र भन्सारबाट भित्र्याउन आदेश दिएकोमा अहिले वीरगञ्ज सुक्खा बन्दरगाहबाट धमाधम विदेशी मदिरा काठमाडौं पठाउने कार्य भइरहेको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा लकडाउन अगाडिदेखि सञ्चय गरिराखेको विदेशी मदिरा अहिले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा वीरगञ्जबाट काठमाडौं पु-याइएको छ । लकडाउनमा सरकारले खाद्य वस्तुको मात्र आयात इजाजत दिएको र विदेशी मदिरा आयातमा पूर्णतया रोक लगाएकोमा सुक्खा बन्दरगाहबाट विदेशी मदिरा अत्यावश्यक वस्तुको सूचीमा राखेर पठाइएकोमा धेरैले आश्चर्य मानेका छन् ।
निषेधाज्ञा हटेपछि स्थानीय प्रशासनले लकडाउनलाई कडाइका साथ पालना गर्ने भन्दै भन्सार अधिकृतलाई नै भन्सारसम्बन्धी कारोबारको जिम्मेवारी सुम्पेको थियो । भन्सार अधिकृतको जिम्मामा आएपछि सरकारले निषेध गरेको मदिरा पठाइएको हो । सुक्खा बन्दरगाहमा अहिले ३५ वटा कन्टेनरभन्दा बढी विदेशी मदिरा सञ्चित छ । तीमध्ये ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा केही कन्टेनर काठमाडौं पठाइएको हो ।