महेन्द्र शाही
सोलुखुम्बु, जेठ १२
सोलुखुम्बु जिल्लाको महाँकुलुङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा वाइफाइसहितको सुविधा राखेको छ । गाउँपालिकाले वडा नम्बर २ सोम्रो डाँडामा निर्माण गरेको २५ बेडको क्वारेन्टाइनमा वाइफाइ सेवासहितको सुविधान राखिएको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरूलाई दिन कटाउन सजिलो होस भन्ने उद्देश्यले वाइफाइको व्यवस्था गरिएको उनले बताए । क्वारेन्टाइनमा वाइफाइको व्यवस्था भएकाले दिन कटाउन सजिलो भएको क्वारेन्टाइनमा बसेकाहरूको भनाइ छ ।
गाउँपालिका अध्यक्ष किराँतीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा सञ्चारबाट नजिक रहन तथा समय बिताउन सहज होस् भन्ने उद्देश्यले वाइफाइ सेवा जडान गरिएको जानकारी दिए । दिन र रातभरि एकै ठाउँमा बस्दा मोनोटोनस हुनसक्ने सम्भावन रहन्छ । सामाजिक सञ्जाल चलाउने तथा चलचित्रहरू हेरेर क्वारेन्टाइनमा बसेकाहरूले दिन बिताइरहेको उनले सुनाए । अहिलेको सूचना र सञ्चारको जमानामा मानिसलाई एकै ठाउँमा बस्न निकै कठिन हुनेगरेको गाउँपालिका अध्यक्षको भनाइ छ । अध्यक्ष स्वयम् पनि क्वारेन्टाइनमा बसेर फेर्केका हुन् ।
यसैबीच गाउँपालिकाले अहिलेसम्म १५ जनाको आरडीटी परीक्षण गरेको छ । गाउँपालिकाले विभिन्न समयमा विदेश तथा काठमाडौँलगायत स्थानबाट आएका १५ जनाको आरडीटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आर्चयले जानकारी दिए । आचार्यका अनुसार विदेशबाट आएका ४ जना, लकडाउनपछि खुम्बु क्षेत्रबाट फर्किएका २ जना र कोरोना रोकथाममा सक्रिय ९ जना कर्मचारी तथा जनप्रतिनिधिहरूको आरडीटी गरिएको हो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यसैबीच गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २ जनालाई घर पठाइएको छ । नाम्चेबाट आएका उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको स्वास्थ्य शाखा संयोजक आर्चयले बताए । काभ्रेबाट शुक्रबार आएका एक जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।