काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार औद्योगिक कर्जा बढेको छ । राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा सात दशमलव तीन प्रतिशत कर्जा बढाएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८०को अन्तिमसम्म बैंक तथ वित्तीय संस्थाले मधेश प्रदेशमा रहेका उद्योग क्षेत्रमा एक खर्ब नौ अर्ब ५९ करोड रूपैयाँ ऋण लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात अर्ब रूपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९मा बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा एक खर्ब दुई अर्ब १३ करोड रूपैयाँ ऋण लगानी गरेका थिए ।
गत आर्थिक वर्षमा मधेश प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६१ दशमलव आठ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३४ प्रतिशत छ । पर्सामा कुल ६६ अर्ब ९४ करोड ७८ लाख रूपैयाँ औद्योगिक कर्जा प्रवाह भएको छ भने सप्तरी जिल्लामा दुई अर्ब ५६ करोड ४२ लाख रूपैयाँ प्रवाह भएको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकाले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सिराहा जिल्लामा छ अर्ब २० करोड ४२ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ भने धनुषा जिल्लामा ११ अर्ब ४६ करोड ६९ लाख रूपैयाँ ऋण लगानी भएको छ । महोत्तरी जिल्लामा पाँच अर्ब ८२ करोड ७७ लाख रूपैयाँ कर्जा प्रवाह हुँदा सर्लाहीमा चार अर्ब ७४ करोड ११ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । रौतहट जिल्लामा चार अर्ब ७६ करोड ३९ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी बारा जिल्लामा सात अर्ब सात करोड ६७ लाख रूपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेयपदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत छ । धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ पाँच प्रतिशत, निर्माण उद्योगतर्फ छ प्रतिशत, खानी उद्योगतर्फ दुई प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ एक प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खानी उद्योगमा ४६ दशमलव ७४ प्रतिशत, धातु उत्पादनमा आठ दशमलव ८१ प्रतिशत, कृषि वन तथा पेयपदार्थ उत्पादन, कृषि, वन तथा पेयपदार्थ उत्पादनतर्फ १३ दशमलव १३ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
निर्माण र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगतर्फको कर्जा भने घटेको छ । प्रतिवेदनअनुसार निर्माण र धातुका उत्पादनतर्फ छ दशमलव एक प्रतिशत र मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगतर्फ ३६ दशमलव सात प्रतिशतले कर्जा प्रवाहमा कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८०को अन्तिमसम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ । यसमध्ये मधेश प्रदेशको सात खर्ब सात अर्ब रहेको छ । यस आर्थिक वर्षमा जीडीपी राष्ट्रिय तहको उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशत र मधेश प्रदेशको एक दशमलव ६९ प्रतिशत रहने देखिएको छ । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३५ दशमलव दुई प्रतिशत छ भने सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको शून्य दशमलव दुई प्रतिशत छ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशत, उद्योग क्षेत्रको १२ दशमलव नौ प्रतिशत र सेवा क्षेत्रको ६२ दशमलव चार प्रतिशत छ । मधेश प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४ दशमलव २५ प्रतिशत छ भने उत्पादन वृद्धि औसतमा पाँच दशमलव २३ प्रतिशत मात्रै देखिएको छ ।