काठमाडौं । सामाजिक संजाल फेसबुकलगायतमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी विभिन्न कम्पनीहरुमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै करिब १७ लाख रुपैयाँ ठगी गरेका खोटाङका ३४ वर्षीय हिमाल राई पक्राउ परेका छन् । काठमाडौंको गंगाहिटी, महाराजगन्जलगायतका विभिन्न स्थानहरुमा भिजन ड्रिमेरी प्रालि संचालन गरी विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरी नोकरी लगाई दिने भनि विश्वास दिलाई प्रतिव्यक्ति एक लाख १३ हजारका दरले १५ जनाबाट १६ लाख ९५ हजार रुपैयाँ रकम लिई राई सम्पर्कविहीन भएका थिए ।
उनले पीडितलाई तालिम समेत नदिई कार्यालय नै बन्द गरी सम्पर्कविहीन भई ठगी गरेकाले उक्त भिजन ड्रिमेरी प्रालिका संचालक राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिकास्थित चपली हाईटको घुम्तीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको जनाएको छ ।