काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सम्पर्कमा आउन अनुरोध गरेको छ ।
सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुँदा सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको उनले बताए
अहिलेसम्मको अनुसन्धानमा १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको हुनाले यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ ।