काठमाडौं, जेठ १२
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कम्पनीले यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तररूपमा सेवा प्रदान गर्नुपरेको हुनाले सबै कर्मचारीहरूले निरन्तररूपमा कोभिड–१९ सम्बन्धी सुरक्षण विधि अपनाएर दैनिक कार्यमा खटिरहेका छन् । सोही कुरालाई ध्यानमा राखेर सिटी एक्सप्रेसले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको हो ।
लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरूले घरमै बसेर आफ्नो कामहरू गरिरहेका छन् । तर, विपे्रषण सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक कर्मचारीहरूमार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको कम्पनीको जनाएको छ ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरूको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जानकारी दिएको छ । रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको कम्पनीले विगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरूबाट सात हजार पाँच सयभन्दा बढी नेपालको एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।