काठमाडौं । औद्योगिक क्षेत्रमा बैंकहरूले कर्जा लगानी बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदन २०७९/८० अनुसार कर्जाको माग, उद्योगहरूको सम्भावनाको आधारमा प्रदेशहरूमा औद्योगिक कर्जा बढेको हो ।
राष्ट्र बैंकले सुदूरपश्चिम, मधेश, कर्णाली, गण्डकी र कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सोही प्रतिवेदनअनुसार यी पाँचवटै प्रदेशमा रहेका उद्योगमा बैंक तथा वित्तीय संस्थाहरूले तीन खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७८/७९को अन्तिममा यस्तो कर्जा दुई खर्ब ५० अर्ब रूपैयाँ थियो ।
प्रतिवेदनअनुसार कोशी प्रदेशको उद्योगहरूमा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ । २०८० असार मसान्तसम्म कोशी प्रदेशमा बैंकहरूले एक खर्ब २९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा २०७९ असार मसान्तको तुलनामा छ दशमलव ६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १६ दशमलव पाँच प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी आद्यौगिक कर्जाको ठूलो हिस्सा ओगट्ने गैरखाद्यवस्तु र कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा बढेकाले समग्र औद्योगिक कर्जा बढेको राष्ट्र बैंकको भनाइ छ ।
कोशी प्रदेशपछि सबैभन्दा बढी कर्जा मधेश प्रदेशमा प्रवाह भएको छ । बैंकहरूले मधेश प्रदेशका उद्योगमा एक खर्ब नौ अर्ब ५९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव तीन प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष मधेश प्रदेशका उद्योगमा एक खर्ब दुई अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएको थियो । मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१ दशमलव शुन्य आठ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३४ प्रतिशत छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको देखिन्छ ।
गण्डकी प्रदेशमा रहेका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ३७ अर्ब ४८ करोड रूपैयाँ छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलव छ प्रतिशतले बढी हो ।
सुदूरपश्चिम प्रदेशका उद्योगहरूमा भने बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ८९ करोड दुई लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव सात प्रतिशतले बढी हो । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा चार दशमलव २१ प्रतिशतले घटेको थियो । यो प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४८ प्रतिशत छ भने बझाङ जिल्लामा सबैभन्दा कम शून्य दशमलव ३१ प्रतिशत छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराका उद्योगमा क्रमशः १६ दशमलव ५६ प्रतिशत, एक दशमलव ६० प्रतिशत, एक दशमलव शून्य चार प्रतिशत, शून्य दशमलव ४२ प्रतिशत, शून्य दशमलव ६९ प्रतिशत, शून्य दशमलव ५२ प्रतिशत र शून्य दशमलव ३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
कर्णाली प्रदेशका उद्योगमा भने बैंकहरूको लगानी निकै कम छ । यस प्रदेशमा उद्योगको संख्या पनि थोरै रहेकाले यस्तो कर्जा कम गएको बैंकहरूको भनाइ छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाले तीन अर्ब ९८ करोड ६१ लाख रूपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव ४७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६७ करोड ४७ लाख रूपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।