काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पदमा अदलबदल भएको छ । सञ्चार सचिव पदमा रामकृष्ण सुवेदी आएका छन् भने सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सुवेदी बहाल रहेको वित्त आयोगमा सरुवा गरिएको छ ।
सुवेदीले बुधबार पदबहाली गरेका छन् भने सञ्चार मन्त्रालयबाट राउतलाई बुधबार नै बिदाइ गरिएको छ । शिक्षा सेवाबाट प्रशासनिक सेवामा प्रवेश गरेका सुवेदी प्रशासनतर्फ सहसचिव हुँदै सचिव भएका थिए । गृह मन्त्रालयको प्रवक्ता हुँदै उनले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेका छन् । सुवेदी सहसचिवबाट सचिव भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव, उपराष्ट्रपति कार्यालय सचिव, मधेश प्रदेशका प्रमुख सचिव हुँदै राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएका थिए ।
पदबहाली कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्र नयाँ भए पनि कानुन पुरानै भएकाले काम गर्न समस्या भएको बताएकी थिइन् भने सचिव सुवेदीले सञ्चार मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मन्त्रालय भएकाले विशिष्ट खालको भूमिका हुने बताएका थिए ।