काठमाडौं । शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमा फोर्स रिजर्भ बटालियको रूपमा कार्यरत शान्ति सेनामा फेरबदल भएको छ । हिजो(बुधबार) सेनानी लाल बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत श्रीवीरदल गण(शान्ति सेना) नवौँ डफ्फाको कार्यकाल सम्पन्न भएकोले उक्त गणको बदलामा श्रीअरिदमन गण(शान्ति सेना) दशौँ डफ्फाका दुई सय १२ जना शान्ति सैनिकहरु काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गणपति प्रमुख सेनानी महेश्वर सिल्वालको नेतृत्वमा रहेको सो गणका छ सय ३८ जना शान्ति सैनिकहरु यस अगावै मिसन इलाकामा तैनाथ भइसकेका छन् । यस्तै, सो मिसनमा कार्यकाल पूरा गरेको श्रीवीरदल गणको नवौँ डफ्फाका दुई सय २२ जना शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी राजन दाहलको नेतृत्वमा यही पौष २४ गते स्वदेश फर्किएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर एक, सैनिक पर्यवेक्षक १३, स्टाफ अधिकृत ४६ र दुईवटा गण तथा एउटा गुल्ममा १६ सय ९९ गरी कूल १७ सय ५९ जना शान्ति सैनिकहरु कार्यरत छन् ।