काठमाडौं । नेपाली सेनाले आज (पौष २७ गते) विभिन्न कार्यक्रमहरु आयोजना गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो । सो अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरे । ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश जङ्गी अड्डालगायत मुलुकभर एवं विदेशमा तैनाथ नेपाली सेनाका इकाईहरुमा विविध कार्यक्रमहरु आयोजना गरि मनाइयो ।
यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँच वटा पल्टन (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी–हाल बर्दबहादुर तथा सबुज)को झण्डा र दिपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमान ढोका पुगेर आजै बिहान श्री ५ पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमका साथ टुंगियो ।
एकीकरण मार्ग पदयात्राको समापनसँगै जङ्गी अड्डामा आयोजित कार्यक्रमका बीच प्रधान सेनापतिले २०७६ सालदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्दै आएको कविता प्रतियोगिताहरुबाट छानिएका कविताहरुको सँगालो वीरताका गाथाहरु विमोचन गरे । कविता संग्रहमा सैनिक र गैरसैनिक सर्जकहरुका ८४ वटा कविताहरु संकलित छन् ।
समारोहमा इतिहासविद् प्रा.डा.त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा प्रवचन दिएका थिए । यसैगरी, यस वर्षको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरुको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरुबाट लघुनाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुदिप थापा तथा रामप्रसाद कँडेलले नेपाली सेनासँगको सहकार्यमा निर्माण गरेको घम् एनिमेटेड पृथ्वीनारायण वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
बलाधिकृत रथी अशोकराज सिग्देल, इतिहासविद्हरु, रथीवृन्दलगायत नेपाली सेनाका सकलदर्जा, सैनिक महाविद्यालयहरुमा अध्ययनरत एवं राष्ट्रिय सेवादलमा तालिमरत छात्रछात्राहरुको उपस्थिति रहेको समारोहको अन्तमा विभिन्न प्रतियोगिताका विजयी एवं वृत्तचित्रका निर्माता र इतिहासविद्लाई बलाधिकृत र प्रधान सेनापतिले पुरस्कार एवं प्रमाणपत्र वितरण गरेका थिए ।