सल्लेरी (सोलुखुम्बु) । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । प्रहरीले आगजनी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट ४० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।
यस्तै, गत असार ५ गते राति पेट्रोल छर्किएर थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । प्रहरी निरीक्षक मिश्रले उक्त आगजनीबाट ४० लाखबराबरको क्षति भएको बताए ।
त्यसैगरी गत साउन ४ गते जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा ८० लाखबराबरको क्षति भएको थियो भने गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा एक करोडबराबरको क्षति भएको थियो ।
आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।