बेइजिङ, जेठ १३
चीनमा थप ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना संक्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
पूर्णरुपमा कोरोनाबाट संक्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् । चीनमा अहिले कुल ३ सय ९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तीमध्ये ३ सय २६ जना त वुहानमा मात्रै रहेका छन् । यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट संक्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित भएको पाइएको थियो ।