इस्लामावाद, जेठ १३
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३ सय ४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७ सय ४८ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमितमध्येका १ हजार १ सय ६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये १७ हजार ४ सय ८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३७ हजार ७ सय जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।