काठमाडौं । वाणिज्य बैंक र विकास बैंकहरूले विपन्न वर्ग क्षेत्रमा कर्जा घटाउँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले निम्न आय भएका मानिसहरूकोे आर्थिक पुनरुत्थानका लागि भन्दै विपन्न वर्ग कर्जा प्रवाह बढाउनुपर्ने नीति लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले यस्तो वर्गमा जाने कर्जाको असुलीमा समस्या देखिएको भन्दै ऋण उपलब्ध गराउनै छाडेका हुन् ।
गतवर्ष राष्ट्र बैंकले एउटा ऋणीलाई एकभन्दा बढी संस्थाले ऋण दिन नपाउने व्यवस्था गरेपछि लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाह पनि खुम्चिएको छ । यसको असर बैंकहरूको विपन्न वर्ग कर्जामा परेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जाको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीबमोजिम बैंकहरूले लघुवित्त वित्तीय संस्थामार्फत कर्जा प्रवाह गर्दै आएका छन् ।
बैंकहरूले लघुवित्त वित्तीय संस्थामार्फत विपन्न वर्ग कर्जा प्रवाह गर्दै आएका छन् । लघुवित्तमार्फत कर्जा उपलब्ध गराउँदा यस्तो कर्जाको लागत बढी पर्ने र ऋणीले कर्जा भुक्तानी गर्न नसक्ने स्थिति आएपछि बैंकहरूले कर्जा नबढाउने भएका हुन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये छ दशमलव नौ प्रतिशत अर्थात् तीन खर्ब १६ अर्ब १४ करोड ९० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव २७ प्रतिशत अर्थात् १५ अर्ब ४९ करोड ८० लाख रूपैयाँले कम हो ।
गत आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंकहरूले ५२ खर्ब ४९ अर्ब १७ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब ९० अर्ब आठ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये सात दशमलव १७ प्रतिशतका दरले हुनआउने तीन खर्ब ३१ अर्ब ६४ करोड ७० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
यस आर्थिक वर्ष मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये छ दशमलव ४२ प्रतिशतका दरले हुनआउने दुई खर्ब ६७ अर्ब ५० करोड ८० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । विपन्न वर्गमा प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ३१ प्रतिशत अर्थात् नौ अर्ब ५९ करोड ७० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४६ खर्ब २३ अर्ब ५७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३९ अर्ब १९ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल प्रवाह भएको कर्जामध्ये छ दशमलव ७३ प्रतिशत अर्गात दुई खर्ब ७७ अर्ब १० करोड ५० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
विकास बैंकहरूले गत मसिंरसम्म पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल प्रवाह भएको कर्जामध्ये ११ दशमलव २४ प्रतिशत अर्थात् ४२ अर्ब ४२ करोड ९० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ११ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड ३० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब १९ अर्ब ५४ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ५८ अर्ब ९१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेकोमा ११ दशमलव ३५ प्रतिशतका दरले हुनआउने ४८ अर्ब ३८ करोड २० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
फाइनान्स कम्पनीहरूले गएको मंसिर मसान्तसम्म एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाह भएको कर्जामध्ये सात दशमलव ३७ प्रतिशत अर्थात् छ अर्ब २१ करोड २० लाख रूपैयाँ विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव १३ प्रतिशत अर्थात् पाँच करोड २० लाख रूपैयाँले बढी हो । गतवर्ष मसिंर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब छ अर्ब छ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यसमध्ये सात दशमलव २४ प्रतिशत अर्थात् छ अर्ब १६ करोड रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।