काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेललाई चयन गरेको छ । समितिमा संस्थापक समूहबाट संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोषकुमार राठीले यही माघ दुई गतेबाट लागू हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएपछि सोही दिन बसेको संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गर्दै अध्यक्ष पदमा पौडेललाई नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
अध्यक्ष पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनान्सिङमा विधावारिधि गरिरहेका छन् । उनीसँग इमर्जिङ नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जरपश्चात् हालको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा पाँच वर्षदेखि सञ्चालक समितिमा रही काम गरेको अनुभव समेत रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाइ हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।
‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवम् विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित भइरहेको छ । त्यस्तै, उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बझाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरूमा पनि सोहीअनुरूप कार्य गर्नेछ ।