काठमाडौं । सिंहदरबारस्थित सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन् ।
मन्त्री ज्वालाले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन् । उनले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।