नयाँ दिल्ली, जेठ १३
सोमबार मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द भएका छन् । भारतमा पनि बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि गएको दुई महिनाभन्दा लामो समयदेखि लकडाउन गरेको छ । लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला नभएका हुन् । नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद सोमबार बन्दाबन्दीको पालना गर्दै बन्द गरिएको जनाइएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा सोमबार कोही पनि उपस्थित नभएका हुन् ।
इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान व्रतपछि इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर सोमबार भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ । यसवर्ष कोभिड १९को महामारीका कारण यसअघि महिनादिनदेखि जारी रहेको इदको अवसरमा पनि कसैलाई मस्जिदमा नजान र घरबाटै नमाज पढ्न भारत सरकारले आग्रह गरेको थियो । सरकारको सोही आदेश बमोजिम नै भारतका प्रायः सबैजसो मस्जिदमा इस्लाम धर्मावलम्बीहरु गएको महिना दिनसम्म र सोमबार पनि जम्मा नभएको बताइएको छ । रासस–एएनआई