तरलता अधिक भएको र अन्य क्षेत्रमा कर्जाको माग न्यून भएपछि बैंकहरू सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाहमा आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकरहरूका अनुसार पुस महिनामा पनि सेयर धितोमा कर्जाको माग बढेको छ ।राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत लचकता अपनाएको र सेयर धितोमा दिइने कर्जामा नरम नीति लिएपछि सेयरबजार करिब चार सय अंक बढेको छ । लगानीकर्ताले कारोबार रकम पनि बढाएका छन् । ब्याजदर घट्दै गएपछि सेयर धितोमा कर्जा माग गर्नेहरू पनि बढ्दै गएका छन् ।वाणिज्य बैंकहरूले मात्रै ६३ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सेयर धितोमा ऋण प्रवाह गरेका छन् । विकास बैंकहरूले १४ अर्ब सात करोड ९० लाख र फाइनान्स कम्पनीहरूले तीन अर्ब ४३ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्टान्डर्ड चार्टर्ड बैंकबाहेक १९ वटाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा दिएका छन् ।
असारयता बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जा पाँच अर्ब ९४ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म बैंकहरूले सेयर धितोमा करिब ७५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए । अहिले सेयरबजारमा नेप्से परिसूचक पनि बढ्दै गएको र बैंकहरूसँग अधिक तरलता भएको, अन्य क्षेत्रमा कर्जाको माग कम आएको कारणले बैंकहरूले सेयर धितोमा कर्जा बढाएका छन् ।नबिल बैंकले सेयर धितोमा सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । नबिलले मंसिरसम्म सेयर धितो राखेर ११ अर्ब आठ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । त्यसपछि ग्लोबल आईएमई बैंकले छ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । एनआईसी एसियाले चार अर्ब ६० करोड ५५ लाख रुपैयाँ, नेपाल बैंकले चार अर्ब ४५ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब २६ करोड एक लाख रुपैयाँ प्रवाह गरेका छन् ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिमभार घटाउँदै लगेपछि बैंकहरूले पनि सेयर धितो राखेर ऋण दिन थालेका छन् । राष्ट्र बैंकले अहिले ५० लाख रुपैयाँभन्दा तलको सेयर धितो कर्जामा जोखिमभार एक सय प्रतिशत र ५० लाखभन्दा माथिको कर्जामा एक सय २५ प्रतिशत कायम गरेको छ । जोखिमभार घटाउँदै जाँदा बैंकहरूको लगानी क्षमता पनि बढ्दै जान्छ । ऋणीले सस्तो ब्याजदरमा कर्जा पाउँछन् ।बैंक तथा वित्तीय संस्थालाई पनि सेयर धितोमा कर्जा प्रवाह गर्न तुलनात्मकरूपमा सजिलो हुन्छ । अन्य क्षेत्रमा कर्जाको माग न्यून भएकोले पनि बैंकहरूले सेयर धितोमा कर्जा लैजान प्रोत्साहन गरेका छन् । कम जोखिम हुने र कर्जा असुलीमा पनि सजिलो हुने भएकाले बैंकहरूले पनि सेयर कर्जामा जोड दिनेगरेका छन् ।