मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीको मुहान सुक्दै जान थालेको हो।
स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको बताउँदै स्थानीयवासी रेशम चेपाङले अवैधरुपमा उक्त स्थानमा उत्खनन हुने ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिने बताए ।
खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि पहिरोको जोखिम बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । सोही ठाउँबाट फेरि जथाभावी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढ्ने त्रास छाएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई ढुङ्गा उत्खनन गर्दै गर्दा गाउँमा पिउने पानीको मुहान सुक्दै गएको जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको गुनासो थियो ।
ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए । पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गर्दा पनि हालसम्म सुनुवाई नभएको उनले बताए । ढुङ्गा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्न धम्की दिएको पनि उनले सुनाए ।