अनिल नेपाली
अर्घाखाची, जेठ १४
अर्घाखाँचीमा पछिल्लो एक सातामा भारतबाट आउनेको संख्या दुई हजार एक सय ३४ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् । भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका तीन सय एक जना, भूमिकास्थान नगरपालिकाका पाँच सय ६४ जना, शितगंगा नगरपालिकाका चार सय ६७ जना, पाणिनी गाउँपालिकाका एक सय ९६ जना, मालारानी गाउँपालिकाका तीन सय ९८ जना र छत्रदेव गाउँपालिकामा एक सय आठ जना गरी दुई हजार एक सय ३४ जना जिल्ला भित्रिएका सहायक प्रमुख जिल्ला अघिकारी खनालले बताए । जिल्लाका ६ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।