काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार रानीवन पार्टी प्यालेस नागार्जुनमा आफ्नो नवौँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अनुसार साधारणसभाको अध्यक्षता पिताम्बरप्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । सञ्चालक समितिका अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेपनि आगामी दिनमा सहज परिस्थितिको कामना गर्दै ग्राहक सदस्यलाई थप गुुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको जानकारी दिए । आगामी दिनमा नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अझै लघुवित्तमैत्री होस् भन्ने कामना समेत गरे ।
सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित भएको छ भने २०८०/८१ को लागि विदुर एसोसिएट्स लेखापरीक्षकमा नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा विवेक कट्टेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ । संस्थाले २०८० मसिर मसान्तसम्म ८८ वटा शाखामार्फत ८० हजार ग्रामीण तथा पिछडिएका महिलाहरूमा वित्तीय सेवा पु¥याइरहेको छ । यही मंसिर मसान्तसम्म छ अर्ब ४६ करोड लगानीमा बाँकी सावाँ रहेकोे, एक अर्ब ७७ करोड सदस्यको बचत एवम् बैंक तथा वित्तीय क्षेत्रको कर्जा दुई अर्ब २४ करोड रुपैयाँ परिचालन भएको संस्थाले जानकारी दिएको छ ।