काठमाडौँ । सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गरेका छन् । असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्यार्इने बताए ।
सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेको बताउँदै प्रधानमन्त्री दाहालले सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाइने बताए ।
प्रधानमन्त्रीले दाहालले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए । उनले सहमतिबाट सो विधेयकलाई टुङ्गो लगाउन आफू प्रयासरत रहेको स्पष्ट पारे । आफूले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित रुपमा छलफल गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
रुसी सेनामा नेपाली युवाको भर्तीबारे सरकार गम्भीर
प्रधानमन्त्री दाहालले नेपाली युवा रुसी सेनामा भर्ती भई समस्यामा परेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा आफू त्यसबारेमा गम्भीर र संवेदनशील रहेको बताए । विगतमा सम्झौता भएका भारत र इङ्ग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा नाम सम्मेलनका क्रममा परराष्ट्रमन्त्रीले रुसका उपविदेशमन्त्रीसँग भेटेर नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको उल्लेख गरे । युद्धमा परेर मारिएका युवाका बारेमा पनि कुरा भएको बताउँदै क्षतिपूर्तिलगायत विषयमा सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ थियो ।