जनकपुरधाम । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ ।
शनिबार बिहान सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले जानकारी दिएका थिए । उनले आइतबार बिहान ६ बजे उक्त रेल अयोध्या प्रस्थान गर्ने कार्यक्रम रहेको हुँदा शनिबार अपराह ४ बजेदेखि नैटिकट बुकिङ खुला गरिएको बताए ।
शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले अयोध्या जाने विशेष रेल सेवा रद्द गरिएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताएका छन् ।