तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको हो ।
ट्रक दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा देवघाट–३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालकको भने खोजी भइरहेको छ ।