काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन आयोगले सोमबार राती १२ बजेदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरिएको जानकारी दिए ।
यस अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन आदि गर्न पाइने छैन ।
यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट, शेयर गर्न गराउन नहुने आयोगले जनाएको छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।
यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान हुनेछ । ६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । २० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।