भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै जाँदा प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो ।
अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. शुभ श्रेष्ठले अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको जानकारी दिए । उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।
डा. श्रेष्ठले सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाँडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाँडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उनले जानकारी दिए ।
सञ्चालनमा आएको उक्त कोषबाट २०७९ साल असारदेखि स्पानल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् । आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ ।
प्रदेश अस्पतालमा पछिल्लो समयमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । अर्थोपेडिक विभागमा हाल डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रवीन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट र डा. हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।
अस्पतालले हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा. डम्बर खड्कालगायत अर्थोपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।