काठमाडौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । २०८० साल असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ ।
गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।
गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैंकबाट हुने गरेको बैंकले दाबी गरेको छ । प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।
त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट निवृत एक लाख ६० हजार भन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी पनि राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।
बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो ।
दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ ।