पोखरा । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन उद्घाटन गरिएको छ । बैंकको ५९औँ वार्षिकोत्सव अवसरमा नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले काठमाडौंबाटै भर्चुअलमार्फतबाट भवनको उद्घाटन गरेको प्रादेशिक कार्यालयका नि.प्रबन्धक विदुरभूषण क्षत्रीले बताए ।
यता, पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले सरकारले नीति, नियम बनाउँदा ध्यान दिनुपर्ने बताए । बैंकहरुले कृषि र उद्योग क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्नुपर्ने धारणा राख्दै अनुत्पादक क्षेत्रमा कम लगानी गर्न, कृषिलाई उत्पादन आधारमा अनुदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, सेवाग्राही मनबहादुर खड्का, पूर्व कर्मचारी गंगाधर पौडेल, राष्ट्रिय बाणिज्य बैंकका कावा अध्यक्ष सन्तोष ढुंगाना, वित्तीय कर्मचारी संघका अध्यक्ष विकास क्षत्री, क्षेत्रीय कार्यकारी अधिकृत नवीन पौडेल लगायतले राष्ट्रिय वाणिज्य बैंक प्रविधिसँगै अगाडि बढेको बताए ।
पोखरा नयाँबजारमा २५ करोड लागतमा निर्मित भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । करिब ४ रोपनीमा निर्मित पाँचतले यो भवन अत्याधुनिक छ । सोलार लाइटसमेत जडान भएकोले विद्युतको कुनै समस्या छैन । भुइँतलामा पार्किङ, पहिलो तलामा यसअघि पृथ्वीचोक शाखाबाट हुने गरेको आर्थिक कारोबार सुरु भइसकेको छ । बीचको तला भाडामा दिइने बताइएको छ भने माथिल्लो तलमा प्रादेशिक कार्यालय हुने नि.प्रादेशिक प्रबन्धक क्षत्रीले बताए ।
कृषि कर्जालाई प्राथमिकता दिँदै आएको यो बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको जनाएको छ । कार्यालयमा १७ कर्मचारी र शाखामा १६ कर्मचारी कार्यरत छन् ।