काठमाडौं । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको छ । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट ल्याई अष्टमीमा आर्यावलोकितेश्वरलाई महास्नान गराइन्छ ।
महास्नानपश्चात् गरिने सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारीले नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङरोगन गरिन्छ भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने जानकारी दिए ।
रङरोगन गर्ने कार्य पूर्णिमाको दिनमा सकेर भगवानको मूर्तिलाई पुरानो आकृतिमा ल्याएर मन्दिरमा पुनःस्थापना गरिने नरेन्द्र चित्रकारले बताए । धार्मिक मान्यता अनुसार आउँदो पूर्णिमासम्म रङरोगनका सम्पूर्ण कार्य सम्पन्न भएर सोही दिन दशकर्म पूजा गरिन्छ । दशकर्म गरेपछि मूर्तिलाई पुनः आसनमा राखिन्छ ।
मूर्तिमा रङरोगन गर्न मूल पूजारीले गर्ने मान्यता अनुसार चित्रकारले दिएको निर्देशनमा रङ भर्ने गरिन्छ । चित्रकारका अनुसार आर्यावलोकितेश्वरको मुख्य मूर्ति रक्तचन्दनबाट बनेको छ । त्यसलाई बचाउनका लागि श्रीखण्ड लिपेर राखेको छ भने सबैभन्दा बाहिरी भागमा ढलोट गरेर मूर्तिको सुरक्षा गरिएको छ ।