वासिड.टन, जेठ १४
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाले मंगलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ ।
ह्वाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्वनिर्णयमा परिवर्तनको घोषणा गरेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार ब्राजिल कोरोना भाइरस संक्रमणका हिसाबले अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । ह्वाइट हाउसले ब्राजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ । यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप संक्रमितको संख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ ।
प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन । अमेरिकामा मंगलबारसम्ममा विश्वकै सबैभन्दा बढी १७ लाख आठ हजार २ सय ६५ व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा विश्वकै दोस्रो धेरै तीन लाख ७६ हजार ६ सय ६९ संक्रमित रहेका छन् ।
विश्वमा धेरै संक्रमण भएका अन्य मुलुकहरूमा रूसमा तीन लाख ६२ हजार ३ सय ४२, स्पेनमा दुई लाख ८२ हजार ४ सय ८०, बेलायतमा दुई लाख ६१ हजार १ सय ८४, स्पेनमा दुई लाख ३० हजार १५८ र फ्रान्समा एक लाख ८२ हजार ९ सय ४२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।