काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले १८ सिट हात पारेका छन् । १९ सिटका लागि आज(बिहीबार) सम्पन्न भएको निर्वाचनमा १८ सिट सत्ता गठबन्धनले हात पार्यो भने एक सिटमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
१९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका एक/एक जना निर्वाचित भए ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मतभारसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी चम्पा कार्कीले ४९ सय ९२ मतभार प्राप्त गरिन् । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२ सय ९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५ सय ६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये तीन प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाका पूजा चौधरी निर्वाचित भए । ढुंगाना ७३ सय ७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७९ सय २३ मतभार पाएर जितिन् ।
यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा चार जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका छ जनामा १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । त्यस्तै, माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । तीन जना फागुन २० मा बिदा हुँदैछन् । थप पाँच जना निर्वाचित भएकाले राष्ट्रियसभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको छ ।
हाल एकीकृत समाजवादीका आठ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा नयाँ दुई जना निर्वाचित भएकाले सांसद संख्यामा घटबढ भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत हुन्छ ।
राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।