त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको हो । सोही आधारमा केही दिनअघि पक्राउ पुर्जी लिएर यसमा संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ ।
यसअघि नै अर्का अधिकृतविरुद्ध मुद्दा दायर भइसकेको छ । प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।