काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को राष्ट्रिय सम्मेलन आज(आइतबार)बाट सुरु हुने भएको छ । विधान हेरफेरलगायतका एजेण्डासहित आज बिहान ११:३० बजेबाट सम्मेलन सुरु हुने भएको हो ।
सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुनेछ । सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी गराएका छन् । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिने जनाइएको छ । त्यस्तै, पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ । सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने जनाइएको छ ।