इस्लामावाद, जेठ १५
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५९ हजार १ सय ५१ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ४ सय ४६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमितमध्येका १ हजार २ सय २५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा मङ्गलबार मात्र २८ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये १९ हजार १ सय २४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३८ हजार ७ सय ८४ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । (रासस/सिन्ह्वा)