काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसहित दुई जनाविरुद्ध बिगोसहित कैद सजायको माग गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्यिारका प्रवक्ता नरहरि घिमिरेले आज(आइतबार) प्रेस विज्ञप्तिमार्फत घुस लिएको पुष्टि भएकाले उनीहरुविरुद्ध उक्त आरोपत्र दायर गरिएको जानकारी गराएका हुन् ।
यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी घुस लिएका थिए । अख्तियारका अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले राहादानी बनाए वापत सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस माग गरेका थिए ।
त्यस्तै, सुमी धामी भन्ने सुमित्रा सापकोटाले सोही घुस लिने/दिने कार्यमा प्रदिप भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेको पाइएकाले सापकोटालाई समेत अख्तियारले सोही किसिमको सजायको माग गर्दै अदालतमा आरोपपत्र दायर गरेको छ ।