बाँके, जेठ १५
यतिबेला नेपालगञ्जका गार्मेन्ट उद्योगलाई गर्मीयाममा लगाइने कपडा उत्पादन गर्ने चटारो छ । टिसर्ट, हाफपाइन्ट, पाइन्टलगायत गर्मी मौसमका कपडा बनाउन उद्योगका मजदुर रातदिन व्यस्त छन् । ‘अहिले उत्पादन सुुरु ग-यौंँ भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ । त्यसैले गर्मीमा लगाउने कपडा तयार गर्दै छौं’, कमल गार्मेन्ट उद्योगका सञ्चालक टंकसिंह धामीले भने । यहाँ सानाठूला गरी दुई दर्जनभन्दा बढी गार्मेन्ट उद्योग सञ्चालनमा छन् ।
गार्मेन्ट उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडा प्रदेश नं ५ का पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ । न्यू लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कश्मिरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उनले बताइन् । ‘अहिले गर्मीयामको कपडा उत्पादन गरिरहेका छौंँ’, कश्मिराले भनिन्, ‘हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौंँ ।’ बन्दाबन्दीअघि नै बाहिरबाट ल्याइएको कच्चा पदार्थले कपडा उत्पादन गरिरहेको व्यवसायी बताउँछन् ।