काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले नेपालगन्जमा आयोजित एक समारोहका बीच नेपालगन्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्द्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष डा. केसीले संघले विगत दुई दशकमा एक खर्बको लगानी र एक अर्बबराबरको परोपकारी काम गरेको जानकारी दिए । कार्यक्रममा नेपालगन्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गरे । सातै प्रदेशमा मोबाइल ब्लड बस सेवा सञ्चालन गर्ने नीतिअनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।