काठमाडौं । वित्तीय पहुँच नभएका तथा आर्थिकरूपमा विपन्न वर्ग समुदायका लागि वित्तीय सेवा दिने उद्देश्यले लघुवित्त वित्तीय संस्थाको स्थापना भएको हो । तर, पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको पहिचान भनेको सरकारी नियुक्ति वा राजनीतिक पदमा पुग्ने सिँढी बनेको छ ।
आधा दर्जनभन्दा बढी लघुवित्तको सञ्चालक समिति तथा उच्च व्यवस्थापनलाई नजिकबाट नियाल्ने हो भने लघुवित्त अब सरकारी नियुक्ति वा राजनीतिक लाभका लागि एउटा सिँढी मात्र बन्न पुगेको देखिन्छ ।
त्यसैको एउटा गतिलो उदाहरण हो, सीवाईसी लघुवित्त वित्तीय संस्था । प्रबन्ध सञ्चालकबाट अहिले सञ्चालक (तर सक्रियता उस्तै)मा खुम्चिएका डोलेन्द्रप्रसाद शर्माको लागि पनि सीवाईसी लघुवित्त एउटा सिँढी मात्र बनेको छ । सञ्चालक नै प्रमुख कार्यकारी बन्न नपाउने कानुनी व्यवस्थालाई चुनौती दिएर प्रबन्ध सञ्चालक पदको सिर्जना गरी डोलेन्द्रप्रसाद शर्मा प्रबन्ध सञ्चालक बनेका थिए । तर, यो विषयमा पटक–पटक प्रश्न उठेपछि राष्ट्र बैंकले कानुनसम्मत रूपमा सञ्चालक नै प्रमुख कार्यकारी नराख्ने सर्त राखेर अहिले वार्षिक साधारणसभाको अनुमति दिएको हो ।
अहिले सञ्चालक मात्र रहे पनि शर्माले सकेसम्म सरकारी नियुक्ति खाने र त्यो नभए भोलिका दिनमा पेलेर जान सके फेरि प्रबन्ध सञ्चालक बन्ने नभए सीवाईसीको सीईओ बन्ने योजनाअनुसार अघि बढेको पाइएको छ ।
त्यही योजनाअनुसार शर्मा अहिले नेपाल आयल निगम र कृषि सामग्री कम्पनी लिमिटेडमा आवेदन दिएर बसेका छन् । कृषि सामग्री कम्पनीले ‘सर्ट लिस्ट’मा निकालेका नौ जनामा शर्माको नाम पनि अटाएको छ । नेकपा समाजवादीको पोल्टामा कृषि मन्त्रालय रहेकाले कृषि सामग्री कम्पनीमा शर्माको नियुक्तिको सम्भावाना बढी रहेको चर्चा छ । शर्मा आफूलाई नेकपा समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालको निकट भएको बताउँदै हिँड्ने गरेकाले शर्माको लागि कृषि सामग्री कम्पनी सहज हुने विश्लेषण गरिएको हो ।
कृषि सामग्री केन्द्र नभए नेपाल आयल निगम पनि उनको रोजाइमा रहेको छ । त्यसो त शर्मा सीवाईसी लघुवित्त आउनुअघि पनि जनक शिक्षा सामग्रीमा प्रबन्ध सञ्चालक थिए । नेकपा माओवादी सरकारमा हुँदा गिरिराजमणि पोख्रेल शिक्षामन्त्री हुँदा उनले जनक शिक्षा सामग्रीमा नियुक्ति पाएका थिए ।
सीवाईसी लघुवित्तमा सञ्चालक रहँदा प्रमुख कार्यकारीको पद पनि सम्हालेका शर्माले कहीँ नभए पुनः यही संस्थाको कार्यकारी भूमिकामा आउन अन्य व्यक्ति नियुक्त गर्न नदिई सरकारी नियुक्तितर्फ ध्यान दिन थालेकाले लघुवित्तको आर्थिक, वित्तीय तथा अन्य सूचक खस्किएको विश्लेषण गरिएको छ । यसअघि लाभांश खुवाउँदै आएको सीवाईसी लघुवित्तले गतवर्ष सेयरधनीलाई लाभांश समेत खुवाउन सकेन ।