ढोरपाटन (बागलुङ) । एक दशकअघिसम्म बागलुङमा मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा सहभागी अतिथिलाई कोसेलीका रूपमा बुट्टेनली दिने चलन थियो । दशकयता आयातीत सामग्रीलाई कोसेलीका रूपमा प्रयोग गर्दै आइएको थियो । तर यस वर्षदेखि बागलुङमा कोसेलीका रूपमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रयोग गर्न थालिएको छ ।
कृषकलाई उत्पादन गर्न प्रेरित गरिरहेको छ भने उत्पादित वस्तुले बजारसमेत पाउन थालेका छन् । बागलुङमा दुई ठूला कार्यक्रममा आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएका थिए । एउटा बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन र अर्को लायन्स क्लबको तेस्रो क्याबिनेट बैठक थियो । बडिगाड गाउँपालिकाले मुख्यमन्त्री पाण्डेलाई स्थानीयस्तरमै उत्पादन भएको चोयाको टोकरीमा मह र भाँगो कोसेलीका रूपमा दिएको थियो भने लान्यस क्लबले बागलुङको ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा उत्पादन भएको भाँगो दिएको थियो । यी दुई कार्यक्रममा मात्रै होइन जिल्लामा हुने अन्य कार्यक्रमका आयोजकले प्राङ्गारिक उत्पादनलाई बढी महत्व दिन थालेका छन् । मुख्यमन्त्री पाण्डेलाई कोसेली प्रदान गर्दै बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय उत्पादन पहिचान भएको बताइन् ।
बडिगाड क्षेत्रमा धेरै किसानले चोयाबाट धेरै प्रकारका सामग्री निर्माण गर्ने, मह र भाँगो उत्पादन गर्ने हुँदा कोसेलीका रूपमा प्रयोग गर्न थालेको उनको भनाइ छ । ‘हामीले धेरै पहिलेदेखि कोसेलीका रूपमा यही नै उत्पादन भएको सामग्रीलाई प्रयोग गर्ने गरेका छौँ, यहाँबाट अरू धेरैले सिक्नुभएको छ, खुसी लाग्छ, कोसेलीमा स्थानीयको पहिचान झल्किन्छ, पहिले आयातीत काम नलाग्ने जिन्सी सामान कोसेली दिने चलन थियो’, अध्यक्ष अधिकारीले भनिन्, ‘स्थानीय उत्पादन कोसेलीका रूपमा प्रयोग गर्दा किसानले उचित मूल्य पाउँछन्, बढी उत्पादन गर्नतर्फ प्रेरित हुने गरेका छन्, हामीहरूले दिन कोसेली कुनै न कुनै हिसाबबाट प्रयोगमा आउँछन् ।’
बडिगाड गाउँपालिकाले मात्रै होइन, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिकालगायतले स्थानीय उत्पादनलाई कोसेलीका रूपमा प्रयोग गर्दै आएका छन् । तमानखोलाले पाहुना तथा अतिथिलाई चोयाको डाली, पछ्यौरा र गाउँमै उत्पादन भएको ढाकाटोपी दिने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । पछिल्लो समय आधुनिकताले गर्दा धेरैले बाहिरबाट ल्याएका सामान प्रयोग गर्ने गरेको भन्दै त्यस्ता वस्तु देख्न राम्रो हुने तर पहिचान नझल्किने उनको भनाइ छ ।