झापा । झापा जिल्ला कारागारमा मंगलबार बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन् ।
सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रुपान्तरणमा लगाउन आग्रह गरे । उनले कैदीबन्दीको विविध समस्या सुधारका लागि आफूले कोसिस गर्ने आश्वासन दिए ।
कारागार प्रमुख मोहनलाल पनेरुले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताए । उनका अनुसार एक हजार पाँच सय २७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६ सय २१ जना कैदीबन्दी कारागारमा छन् ।
विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सयजना कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहर–मैला व्यवस्थापनमा समस्या बढिरहेको पनेरुले बताए ।
नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक रु. ८० र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले बताए । उनले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुका लागि सीप सिकाउने, खेलहरु खेलाउने, अध्ययन अध्यापनमा रुचि जगाउनेलगायत नमूना कार्यहरु गर्दै आएको बताए ।
कार्यक्रममा बन्दी पुस्तकालयलाई सहयोग गरेबापत प्रतिनिधिसभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्वसदस्य वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतलाई सम्मान गरिएको थियो ।