काठमाडौं । सामाजिक संजाल युट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा यूट्युबर मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका घर भएका ३६ वर्षीय मनोजलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले महिलालाई व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल युट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानी दिने गरेका थिए । साथै, चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।