काठमाडौं । नेपाल वायु सेवा निगमले सिनामंगलमा सुविधासम्पन्न केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं ९, सिनामंगलस्थित निगमको जग्गामा बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरिने भएको हो ।
साथै, सो जग्गामा केन्द्रीय कार्यालय भवनसँगै इन–फ्लाइट किचेन भवन, निगमलाई आवश्यक पर्ने पार्किङस्थल तथा अन्य आवश्यक संरचना निर्माण स्थल समेत बनाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । सो भवन निर्माणका लागि निगमले हालै भूमिपूजन समेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भवन निर्माणको लागी भूमिपूजन गरेका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको प्रयोगविहीन अवस्थामा रहेको करिब ३५ रोपनी क्षेत्रफलमा रहेको यस जग्गामा तालुक मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी सुविधासम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रीय कार्यालय भवन तथा संरचना निमार्ण गरिने बताए ।
त्यसैगरी निगमका अन्य २३ स्थानमा रहेका घरजग्गा तथा संरचनाहरूको विस्तृत अध्ययन गरी संरक्षण गर्ने उनले जानकारी दिए । निगमको सम्पत्तिलाई आम्दानी वृद्धि हुने गरी उचित व्यवस्थापन गरिने उनले बताए । हाल केन्द्रीय कार्यालय रहेको न्युरोडको भवन तथा जग्गामा व्यावसायिक भवन बनाउने निगमको सपना रहेको उनले बताए । सो सपनालाई यथाशीघ्र पूरा गर्ने पनि उनले प्रतिबद्वता जनाए ।